शैक्षिक गन्तव्यका रुपमा विकास हुँदै ‘रामतुलसी’

पाल्पा | असोज १०, २०७९

शैक्षिक गन्तव्यका रुपमा विकास हुँदै ‘रामतुलसी’

 

रामपुर । विद्यालय हाताभित्र प्रवेश गरेपछि हरियाली रुख बिरुवा, शान्त पारिवारिक वातावरण देख्दै लोभलाग्दो बनेको छ, रामतुलसी नमूना मावि । दुई हजार तीन सय ८० विद्यार्थी पढ्ने शान्त र सुन्दर विद्यालयको वातवरण देख्ने जो कोही पनि दङ्ग पर्छन् । 
       
  

 पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वरामपुर नगरपालिकामा रहेको यस विद्यालयले शैक्षिक क्षेत्रमा नमूना विद्यालयका रुपमा पहिचान बनाएको छ । हिजोआज यहाँको वातावरण, प्रविधिमैत्री शिक्षा अन्य विद्यालयका लागि सिकाइ सिक्ने थलो बनेको छ । शैक्षिक अवलोकनका लागि रामतुलसी हेर्न र सिक्न लायकको विद्यालय बनेपछि संस्थागत विद्यालय छाडेर यहाँ अध्ययन गर्न आउने विद्यार्थीको आकर्षण छ ।
       
    

भारत गुजरातस्थित एक राम्रै बोर्डिङ स्कुलबाट एसइईसम्मको शिक्षा लिनुभएकी सञ्जना उचै यस वर्ष कक्षा ११ मा रामतुलसी माविमा विज्ञान सङ्कायमा भर्ना भई अध्ययनरत हुनुहुन्छ । विद्यालयको वातावरण, अनुशासन, सामुदायिक भए पनि शिक्षामा अब्बल विद्यालय भएकाले उच्च शिक्षाका लागि भारत छाडेर रामतुलसीमा भर्ना भएको उहाँले बताउनुभयो । 
       
  

 उहाँ भन्नुहुन्छ, “गुजरातमा राम्रै बोर्डिङ स्कुलमा पढेको थिए, नेपालमै बसेर सामुदायिक विद्यालयमा पढ्ने रहर जाग्यो, त्यसमा पनि गाउँमै सञ्चालन भइरहेको यस विद्यालय हामीले खोजे जस्तै पठनपाठन हुँदोरहेछ, यहाँको वातावरणले मलाई शिक्षामा आकर्षित बनायो ।” 
       
    

सामुदायिक भए पनि बोर्डिङ स्कुलको तुलनामा धेरै सुविधा, गुणस्तरीय शिक्षा भएकाले आफ्नो रोजाइमा यसै विद्यालय परेको कृति अधिकारी बताउनुहुन्छ । उहाँ पनि संस्थागत विद्यालय छाडेर एसइई उत्तीर्णपश्चात यस विद्यालयमा आउनुभएको हो । सामुदायिक विद्यालयले शैक्षिक क्षेत्रमा गरेको नमूना कार्यले राम्रो शिक्षा लिन संस्थागत विद्यालय नै पढ्नुपर्छ भन्ने मानसिकता हिजोआज विद्यार्थी तथा अभिभावकमा हट्दै गएको छ । 
       
    

यहाँका शिक्षक, कर्मचारी, व्यवस्थापन समिति र अभिभावकले विद्यालयको शैक्षिक तथा भौतिकस्तर सुधार गर्न अहोरात्र खटेपछि विद्यार्थीले सोचेजस्तै र खोजेजस्तै विद्यालय बनेको छ । घरमै बसेर न्यूनतम् शुल्कमा गुणस्तरीय प्रविधिमैत्री शिक्षा लिन पाइने, पढ्नका निम्ति अन्यत्र जाने झमेला गर्नु नपर्ने, अर्कोतर्फ विद्यालयको शैक्षिक वातावरणले आकर्षित बनाएको विशाल चौबै बताउनुहुन्छ । 
       
  

 “सहर बजारका ठूला विद्यालयमा पढाइ हुने विषय यहाँ छन्, आफूले इच्छा गरेको विषयवस्तु यहीँ पढ्न पाएपछि अन्यत्र जानु परेन, पढाइमा कम खर्च, विषयानुसार आवश्यक पर्ने सबै प्रविधिको सुविधा विद्यालयले उपलब्ध गराएको छ, अनुभवी शिक्षकबाट शिक्षण कार्यले पढाइसँगै यहाँ आएपछि विषयवस्तुभित्रका मात्र नभई बाहिरी धेरै ज्ञान सीप सिक्ने अवसर मिलेको छ”, उहाँले भन्नुभयो ।
   

   
    विद्यालयको प्रवेशद्वारभित्र पसेपछि नपढ्नेलाई पनि पढ्नुपर्छ भन्ने खालको वातावरण यहाँ पाइएको उहाँको भनाइ छ । यहाँ हरेक वर्ष एक सय ५० का दरले विद्यार्थी बढिरहेका छन् । शिक्षक, कर्मचारीको इमान्दारितापन, समुदायले रामतुलसी विद्यालयप्रति लिएको विश्वास, न्यूनतम् शुल्कमा विद्यालय सञ्चालन भएकाले बर्सेनि विद्यार्थीको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ, प्रधानाध्यापक बालकृष्ण लम्साल ।
       
 

   “विद्यार्थीको चौतर्फी सिकाइमा विद्यालयले कुनै सुविधा कञ्जुस्याइँ गरेको छैन, पारिवारिक वातावरणमा शिक्षण कार्य भइरहेको छ, संस्थागतमा पढेका विद्यार्थी यहाँ आउनेक्रम बढिरहेको छ”, उहाँले भन्नुभयो, “बिहान साँझको समयमा अब विद्यालयमा आध्यात्मिक चिन्तन र सङ्गीतको शिक्षा सञ्चालन गर्ने, विद्यालयको प्रवेशद्वारभित्र पसेपछि पानीको फोहोरासहितको पोखरी निर्माण, शिव पार्वतीको मूर्ति स्थापना गर्ने योजना छ” । 
       
  

 भूगोलको हिसावले शहरोन्मुख, बजार नजिकै विद्यालय, अन्यत्र विद्यालयमा पढाई नभएका विषय यहाँ सञ्चालन, तीन वर्षे कृषि बाली विज्ञान, कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा सङ्कायमा पठनपाठन भइरहेको छ । यहाँको वातावरण र व्यवस्थापकीय पक्ष राम्रो हुँदै जाँदा विद्यार्थीको आकर्षण बढेको हो । नमूना विद्यालयको पाँचौँ वर्षमा विद्यालय प्रवेश गरेको छ । 
       
  

 समयानुकूल शिक्षण सिकाइलाई अवलम्बन गरेर शैक्षिक वातावरण व्यवस्थापन गर्दै जाँदा हिजो स्कुल आउन नमान्ने बालबालिका अहिले नियमित स्कुल आउने, पठनपाठनमा चासो दिने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल बताउनुहुन्छ । उहाँका अनुसार मन्त्री, सरकारी तवरमा उच्च तहमा पुगेका कर्मचारी, विभिन्न क्षेत्रमा धेरै जनशक्ति उत्पादन गर्ने पुरानो हाइस्कुलले चिनिएको रामतुलसी नमूना माविले अहिले शैक्षिक क्षेत्रमा नौलो आयाम बनाउन सफल भएको छ ।
       
    

“शिक्षाको गुणस्तर वृद्धि गर्न विद्यालयले दक्ष जनशक्ति छनोट, विद्यार्थीलाई विद्यालयभित्र पुगिसकेपछि पढुँपढुँ बनाउने खालको शैक्षिक वातावरण तयार पारिएको छ,  हामीले कसरी हुन्छ विद्यार्थीलाई खुसीका साथ पढ्ने वातावरण बनाइदिएका छौँ, अहिले विद्यार्थीको चाप धेरै छ, व्यवस्थापन पक्षबाट शैक्षिक कार्यमा कुनै कमी हुन दिएका छैनौँ”, उहाँले भन्नुभयो । 
       
    

रामपुर नगरपालिकाले नगरभित्रका विद्यालयमा शिक्षामा समानुपातिक बजेट बाँडफाँट नगरेको हुँदा अव विद्यार्थी सङ्ख्याको आधारमा विद्यालयलाई बजेट उपलब्ध गराउनु पर्ने अध्यक्ष पौडेलको माग छ । धेरै विद्यार्थीले पढ्ने यस विद्यालयमा नगर सरकारले चासो दिएको पाइँदैन । 
      
  

 हाल यस विद्यालयमा १०२ शिक्षक, कर्मचारी कार्यरत छन् । यसमध्ये सरकारी दरबन्दीका ३० जना शिक्षक कार्यरत छन् । बाँकी सबै निजी स्रोतका शिक्षक, कर्मचारी हुन् । मासिक रु १३ लाख रकम निजी स्रोतका शिक्षक तथा कर्मचारीको तलब व्यवस्थापन विद्यालयले आन्तरिकरुपमा नै गरिरहेको छ । विद्यालयको विभिन्न जग्गा तथा सटर भाडाबाट वार्षिक रु तीन लाख आम्दानी हुन्छ । 
       
  

 कक्षा ११ र १२ अन्तर्गत शिक्षा र व्यवस्थापनका विषय बिहान, विज्ञान विषय दिउँसोमा चलिरहेको छ । कक्षा ११ र १२ का सबै विषय दिउँसोमा चलाउन विद्यार्थी सङ्ख्या बढी भएकाले कक्षाकोठाको अभाव रहेको विद्यालयले जनाएको छ । दिउँसोमा ६५ वटा कक्षा नियमित चलिरहेको छ । दुईवटा स्कुल बस दैनिक सञ्चालनमा ल्याइएको छ । विद्यालयका एक सय २० कोठामध्ये एक सय कोठा शैक्षिक प्रयोजनमा छ । 
   

  
    गत आर्थिक वर्षमा व्यावसायिक शिक्षा अभिवृद्धि परियोजनाअन्तर्गत विनियोजित रु ३२ लाख सहयोगमा अत्याधुनिक खालको कम्प्युटर ल्याब तयार पारिएको छ । जहाँ एकै पटकमा ३० जना विद्यार्थीले प्रयोग गर्न मिल्ने खालको संरचना तयार छ । यहाँ कक्षा ८ देखि १२ सम्म कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । व्यवस्थित पुस्तकालय, सुविधा सम्पन्न तीन सय मानिस अट्ने क्षमताको चमेना गृह व्यवस्थापन गरिएको छ । 
   

   
    अति न्यून शुल्क लिएर संस्थागत विद्यालयले दिने सबै सेवासुविधा उपलब्ध गराइएको र यस विद्यालयलाई नेपालकै नमूना विद्यालय बनाउने कोशिसमा रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य अशोक श्रेष्ठले बताउनुभयो । 

  

 विद्यालयमा प्राथमिक उपचारका लागि एक जना नर्स र प्रवेशद्वारभित्र पस्ने बित्तिकै सुरक्षा कर्मचारी परिचालन गरिएको सदस्य श्रेष्ठ बताउनुहुछ । विद्यालय समयमा विद्यार्थीलाई चोटपटक लागेमा वा विभिन्न समस्या देखिएमा प्राथमिक उपचार उपलब्ध गराउन नर्स कर्मचारीको व्यवस्था गरिएको हो ।
   

   
    हाल यहाँ नेपाली, अङ्ग्रेजी माध्यममा कक्षा १० सम्म पठनपाठन भइरहेको छ भने अबदेखि भने अङ्ग्रेजी माध्यमअन्र्तगत पनि विशिष्टीकृतरुपमा प्रविधियुक्त शिक्षा दिइने विद्यालयले जनाएको छ । विशिष्टीकृत शिक्षा प्रदान गर्न पूर्व बालविकास अर्थात मन्टेश्वरी कक्षा सञ्चालन गरिरहेको समितिले जनाएको छ ।
 

     
    रामतुलसी माविको हिजोको इतिहास खोतल्दा पार्टी, पौवाबाट अक्षराम्भ भएको विद्यालय हो । भवन अभावमा गाउँका पार्टी, पौवा, चौतारी, खुल्ला चौर, बगैँचामा विद्यार्थी राखेर शिक्षा दिएको विद्यालय अहिले सुविधा सम्पन्न नमुना विद्यालयका रुपमा सबैका सामु चिनिएको छ । शिक्षाको उज्यालो ज्योति प्रदान गर्न २०२५ सालमा स्थापना भएको यो विद्यालय पूर्वी पाल्पामै पुरानो हाइस्कुलका नामले परिचित छ । 
   

   
    तत्कालीन समयमा पूर्वी पाल्पाको एकमात्र शैक्षिक धरोधरका रुपमा रहेको यस विद्यालयले धेरै विद्यार्थीलाई शिक्षाको उज्यालो ज्योति छरेको छ । अहिले पनि हाइस्कुल भनेपछि धेरैको बुझाइमा रामतुलसी भनेर बुझिन्छ । आजको अवस्थासम्म आइपुग्दा शैक्षिक तथा भौतिक क्षेत्रमा धेरै फड्को मार्न सफल भएको छ । 
       
  

 यहाँ सञ्चालनमा आएको प्रविधिमैत्री नमूना पूर्व बालविकास अर्थात मन्टेश्वरी कक्षाले निकै चर्चा पाएको छ । शैक्षिक गुणस्तरलाई मध्यनजर गर्दै विद्यालय जाने प्रारम्भिक उमेर समूहका बालबालिकालाई लक्षित गर्दै प्रविधिमैत्री सुविधा सम्पन्न मन्टेश्वरी कक्षा सञ्चालनमा आएको छ । भौतिक तथा शैक्षिक क्षेत्रमा राम्रो पहिचान बनाउन सफल भएको रामतुलसी मावि धेरैको रोजाइमा पर्ने गरेको छ । पर्याप्त खेलमैदान, सुविधा सम्पन्न शौचालय, खानेपानी, प्रयोगशाला, पुस्तकालयलगायतको राम्रो सुविधा छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्